Rule 80
स्थानान्तरण प्रमाणपत्र सम्बन्धी व्यवस्था
(१) कुनै विद्यार्थीले स्थानान्तरण प्रमाणपत्र लिनु परेमा अभिभावकको सिफारिस सहित विद्यालय छाड्नु परेको यथार्थ विवरण खुलाई प्रधानाध्यापक समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कक्षा बाह्रृमा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिइने छैन ।
तर देहायका अवस्थामा शैक्षिक सत्र शुरु भएको दुई महिनाभित्र स्थानान्तरण प्रमाणपत्र दिने र स्थानान्तर भई आउने विद्यालयको सिफारिसमा जिल्ला शिक्षा कार्यालयको सहमति लिई स्थानान्तरण प्रमाणपत्र दिन सकिनेछः–
(क) स्थानान्तरण हुने विद्यार्थीको अभिभावक कर्मचारी भएमा र निजको सो समयमा सरुवा भएमा,
(ख) वैवाहिक सम्बन्धको कारणले महिला विद्यार्थी अन्यत्र स्थानान्तरण हुनु परेमा, वा
(ग) अभिभावकको बसाई सराई भएमा ।
(२क) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि महामारी वा यस्तै अन्य विपद्का कारण पठन पाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको बिद्यालयमा सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित बिद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नु पर्नेछ र सोको जानकारी सम्बन्धित विद्यालयले शिक्षा विकास तथा समन्वय इकाइलाई दिनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा प्रधानाध्यापकले प्राथमिक तहको विद्यार्थीको हकमा निशुल्क र अन्य तहको विद्यार्थीको हकमा नियमानुसार लाग्ने दस्तुर लिई सात दिनभित्र स्थानान्तरण प्रमाणपत्र दिनु पर्नेछ ।
(४) प्रधानाध्यापकले उपनियम (३) बमोजिमको अवधिभित्र स्थानान्तरण प्रमाणपत्र नदिएमा सम्बन्धित विद्यार्थीले जिल्ला शिक्षा अधिकारी समक्ष उजूरी दिन सक्नेछ र त्यसरी उजूरी पर्न आएमा जिल्ला शिक्षा अधिकारीले जाँचबुझ गरी स्थानान्तरण प्रमाणपत्र दिन उचित ठहर्याएमा प्रधानाध्यापकलाई यथाशीघ्र स्थानान्तरण प्रमाणपत्र दिनु भन्ने आदेश दिन सक्नेछ ।
(५) सक्कल स्थानान्तरण प्रमाणपत्र हराएमा वा नष्ट भएमा सम्बन्धित विद्यार्थी वा निजको अभिभावकले प्रतिलिपिको लागि त्यसको व्यहोरा खुलाई सम्बन्धित विद्यालयमा निवेदन दिन सक्नेछ र त्यसरी पर्न आएको निवेदन मनासिव देखिएमा प्रधानाध्यापकले निवेदकलाई स्थानान्तरण प्रमाणपत्रको प्रतिलिपि दिनेछ ।
(६) विद्यालयले कुनैे विद्यार्थीलाई आफूले अध्यापन नगराएको कक्षाको स्थानान्तरण प्रमाणपत्र दिएमा त्यस्तो प्रमाणपत्र दिने प्रधानाध्यापकलाई ऐन बमोजिम सजाय गरिनेछ र त्यसरी दिएको स्थानातरण प्रमाणपत्र रद्द हुनेछ ।
(७) विद्यार्थीले जुन महिनामा स्थानान्तरण प्रमाणपत्र मागेको छ सो महिनासम्मको मासिक पढाई शुल्क र अन्य दस्तुर सोही विद्यालयमा बुझाउनु पर्नेछ । विद्यार्थीले लामो बिदा (वार्षिक जाडो वा गर्मीको बिदा) को अघिल्लो महिनामा स्थानान्तरण प्रमाणपत्र माग्न आएमा सो बिदाको शुल्क र अरु दस्तुर सोही विद्यालयमा बुझाउनु पर्नेछ ।
(८) विद्यालयले यस नियमावली बमोजिम विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिँदा सो प्रमाणपत्र पाउने विद्यार्थी वा निजको अभिभावकको रीतपूर्वक भरपाई गराउनु पर्नेछ ।